दिनेश शर्मा
जेठ ३२ गते। गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ।
बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको हो । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।
यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
यता हत्या मा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहाको गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता न्यौपानेले कुशवाहाको पिठ्युँमा १ राउण्ड गोली लागेको बताए । ‘क्याम्पस प्रमुख कुशवाहाको हत्या घटनामा संलग्न र यसको कारणबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने । राजाराम बहुमुखी क्याम्पसका प्रमुख कुशवाहा शुक्रबार बिहान काम विशेषले बाराको आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । उनी अहिले साँझ ५ बजे घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने ठाउँमा अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।