दिनेश शर्मा
सिराहा l सिराहामा प्रहरी जवानको मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिको अवस्थामा मृत भेटिएकी थिइन् ।
बाँके खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मृतक महिला प्रहरीको मोबाइलमा भेटिएका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए। करिश्मा र पुष्कर प्रेमी प्रेमीका हुन् ।
‘उहाँहरूको बीचमा विवाद भएका म्यासेजहरू फेला परे। मृतकका परिवारले पनि उहाँविरुद्ध जाहेरी दिनुभयो। त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक द्विवेदीले भने।