दिनेश शर्मा
सिरहा २७ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको विरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व– पश्चिम लोकमार्गअन्तरगर्त बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।
भारी वर्षा भइरहेको समयमा तिव्र गतिमा बसले ओभर टेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा घाइते भएका १४ मध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।
यस्तै दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको बताइएको छ । अवस्था मध्येम हुनेमा बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्षमी घिसिङ रहेका छन् ।
यस्तै सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीया आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलास यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेश कुमार यादव र बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीले बसका सहचालक सर्लाहीको मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेश कुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिसकेको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन । बसमा २५/२६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।