दिनेश शर्मा
सिरहा ७ साउन । आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
गोलबजारको शिवमन्दिर, सिरहाको गोलबजार धमिनी मन्दिरमा,धनगढीमाइ शिव मन्दिर, लहान शिव मन्दिर, मिर्चैया शिव मन्दिर सिरहा शिव मन्दिर लगायत देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको छ ।
साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।
साउन महिना भगवान् शिवको महिना मानिन्छ । अनि सोमवार उहाँको प्रिय दिन हो । शिवपुराणमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुनुहुन्छ ।
यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ ।
हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् ।
साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।