सिरहा । हिन्दुहरुको महान चाडपर्व दीपावली र छठ पर्वको अवसरमा अर्नमा गाउँपालिकाको प्राङ्गणमा आयोजित गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा मधेशको सांस्कृतिक धरोहरका विभिन्न लोक नृत्य तथा पारम्परिक भेषभूषामा सजिएका विद्यार्थीहरुले समा चकेबा, जाटजटनी, झिझिया जस्ता आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए।
यस कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी साह तथा बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव रहनु भएको थियो। यसैगरी कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक, अभिभावक, प्रहरी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि लगायत स्थानीय बुद्धिजीवीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष अशोक कुमार यादवले आफ्नो विशेष कार्य व्यस्तताको कारण कार्यक्रममा अनुपस्थित रहँदै पनि विद्यार्थीहरुको प्रतिभा उजागर गर्न आफू सधैं प्रतिवद्ध रहेको कुरा व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादवले विद्यार्थीको सर्वांगीण विकासमा शिक्षकहरुको सक्रियता र लगनशीलताको महत्त्वलाई जोड दिंदै, पोशाकमा विद्यालयमा उपस्थित हुन विद्यार्थीलाई प्रेरित गरे।
नृत्य प्रतियोगितामा श्री ज.क.मा.वि. गौरिपुरले प्रथम, श्री आ.वि. महेशपुर धोक्रेले द्वितीय र श्री मा.वि. कालिका जगतगन्जले तृतीय स्थान हासिल गरे। यसैगरी हाजिरी जवाफ प्रतियोगितामा श्री ज.क.मा.वि. गौरिपुरले प्रथम, श्री पु.म. श्रेष्ठ मा.वि. अर्नमाले द्वितीय र श्री ज.प्रा.मा.वि. ब्रह्मपुरीले तृतीय स्थान प्राप्त गरे।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख संजय कुमार ठाकुरले गर्नुभएको थियो, र विशेष सहयोग प्राविधिक शाखा प्रमुख इन्जिनियर दिलीप कुमार यादव तथा महिला विकास शाखा प्रमुख राजिब यादवले प्रदान गरेका थिए।